11:05 am
Sunday September 27 2026
kingdom Voice FM

नुवाकोटका बाढीपीडितलाई ख्रिष्टियन संस्थाको ५२ लाखको राहत सामग्री वितरण

शनिबार भदौ २०, २०८३/ Saturday 09-05-2026


नुवाकोट, १९ भदौ २०८३ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नुवाकोटका तीन सय घरधुरीलाई इसाई समाज रसुवाको संयोजनमा नेपालमा रहेका विभिन्न ६ वटा ख्रिष्टियन संस्थाले करिब ५२ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका छन् ।

बिहीबार त्रिशूलीस्थित त्रिशूली एजी चर्च परिसरमा आयोजित कार्यक्रममा बाढीपीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो। राहत सामग्री प्राप्त गरेपछि बाढीपीडितहरूले विपद्को समयमा सहयोग उपलब्ध गराउने सबैप्रति आभार व्यक्त गरेका छन् ।

इसाई समाज रसुवाका अध्यक्ष तथा राहत वितरण कार्यक्रमका संयोजक पास्टर बालकृष्ण श्रेष्ठका अनुसार भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नुवाकोटका विभिन्न गाउँ तथा बस्तीका तीन सय परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

श्रेष्ठले नुवाकोटपछि अब रसुवा जिल्लाका बाढी प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरिने जानकारी दिनुभयो ।

राहत सामग्रीमा प्रेसर कुकर, चुलो, भाँडाकुँडा, बाल्टिन, कम्बल लगायत दैनिक जीवनमा आवश्यक पर्ने सामग्री रहेका छन् ।

राहत सामग्रीका लागि आर्थिक तथा सामग्री सहयोग गर्ने संस्थाहरूमा सेफ नेपाल, आनन्दित च्यारिटी सेन्टर, क्विक रेस्क्यु टिम नेपाल, टेबरनेकल मिनिस्ट्रीज तथा न्यू लाइफ ह्यान्डिक्राफ्ट मिनिस्ट्रीज एण्ड प्रेयर टावर, काठमाडौं रहेका छन् ।

राहत वितरण कार्यक्रममा काठमाडौंँबाट त्रिशूली पुग्नुभएका सामुदायिक विकासविद् डा. नवराज पन्तले विपद्को समयमा चर्चका सदस्य तथा ख्रिष्टियन संस्थाहरूले स्वस्फूर्त रूपमा करिब ५२ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउनु प्रशंसनीय कार्य भएको बताउनुभयो ।

त्यस्तै, टेबरनेकल मिनिस्ट्रीजको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी मोरङका सञ्चारकर्मी आरपी पौडेलले नेपालका अल्पसंख्यक ख्रिष्टियन समुदायले विपद्को समयमा बहुसंख्यक समुदायलाई सेवा तथा राहत उपलब्ध गराउन सधैं अग्रसर हुँदै आएको बताउनुभयो। उहाँले यस्ता मानवीय सेवाका कार्यमा ख्रिष्टियन समुदायले सरकार र अन्य निकायसँगै प्रभावकारी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । 


उहाँले यस्तो विपतमा नेपालका ख्रिष्टियनहरुले धर्मभन्दा माथि उठेर बाढी प्रभावित व्यक्तिहरु बीचमा राहत वितरण र सेवाको काम गरेको दावी गर्नु भयो ।