12:49 pm
Monday September 28 2026
kingdom Voice FM

अमेरिकी लेखक डा. डेनिसद्वारा नेपालमा 'ब्युल्ट अर ब्रोकन' पुस्तक लोकार्पण

आइतबार भदौ ७, २०८३/ Sunday 08-23-2026

 

किगडम भ्वाइस एफएम, ७ भदौ २०८३ | भक्तपुर, अमेरिकी लेखक, नेतृत्व विशेषज्ञ तथा मोटिभेसनल स्पिकर डा. डेनिस जे. कमिन्सले आफ्नो पछिल्लो पुस्तक Built or Broken: Why Leadership Is the Discipline of Order को नेपालमा लोकार्पण गर्नुभएको छ।

आइतबार भक्तपुरको गोठाटारस्थित जर्मनी होम हस्पिटालिटीमा Hearts for Nepal Foundation द्वारा आयोजित एकदिने Leadership Conference अन्तर्गत आयोजित प्रेस मिट कार्यक्रममा डा. कमिन्सले पुस्तकको औपचारिक लोकार्पण गर्नुभएको हो।

पुस्तक लोकार्पणपछि बोल्दै लेखक डा. कमिन्सले नेतृत्व केवल लोकप्रियता, प्रभाव वा करिश्मामा सीमित नभई व्यवस्था, अनुशासन, जवाफदेहिता र जिम्मेवारी कायम गर्ने अभ्यास भएको बताउनुभयो। उहाँले व्यक्तिकेन्द्रित नेतृत्वभन्दा बलियो र दिगो प्रणाली निर्माणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

प्रेस मिटमा पत्रकारहरूले राखेका विभिन्न प्रश्नहरूको जवाफ दिँदै डा. कमिन्सले कुनै पनि संस्था वा समाजलाई दिगो रूपमा अघि बढाउन व्यक्तिभन्दा बलियो प्रणाली आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार प्रभावकारी नेतृत्वले मानिसहरूलाई पछाडि लगाउने मात्र नभई सही संरचना निर्माण गर्ने, अनुशासन कायम गर्ने, स्पष्ट जिम्मेवारी निर्धारण गर्ने र जवाफदेहिताको संस्कार विकास गर्ने काम गर्नुपर्छ।

Built or Broken मा नेतृत्वका विभिन्न आयामसँगै व्यक्तिगत आत्मअनुशासन, संस्थागत व्यवस्था, जवाफदेहिता, स्पष्टता, जिम्मेवारी, नेतृत्व हस्तान्तरण तथा दिगो प्रणाली निर्माण जस्ता विषयहरू समेटिएका छन्।

नेपालमा लामो समयदेखि मानवीय तथा परोपकारी क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएका डा. कमिन्सको पछिल्लो पुस्तक Hearts for Nepal Foundation को ब्यानरमा नेपालमा लोकार्पण गर्न पाउनु गौरवको विषय भएको फाउन्डेसनका अध्यक्ष सञ्जीव शाहले बताउनुभयो। उहाँले डा. कमिन्सले लामो समयदेखि नेपालमा पुर्‍याउँदै आएको मानवीय तथा सामाजिक योगदानको प्रशंसा गर्नुभयो।

डा. डेनिस जे. कमिन्सका नेतृत्व, व्यक्तिगत विकास तथा मानवीय सेवासम्बन्धी विभिन्न पुस्तकहरू प्रकाशित छन्। उहाँका High Altitude Leadership र Leading in the Blast Zone लगायतका पुस्तकहरू चर्चित तथा सर्वाधिक बिक्री भएका कृतिहरूमध्ये पर्छन्।