11:05 am
Sunday September 27 2026
kingdom Voice FM

आदिपत्रकार पादरी गंगाप्रसाद प्रधानको १७५औं जन्म स्मृति कार्यक्रम सम्पन्न

शनिबार असार २०, २०८३/ Saturday 07-04-2026

ललितपुर, २० असार २०८३ । नेपाली पत्रकारिताका आदिपत्रकार स्वर्गीय पादरी गंगाप्रसाद प्रधानको १७५औं जन्म स्मृति कार्यक्रम विविध कार्यक्रमका साथ मनाइएको छ।

नेपाल राष्ट्रिय मण्डली संगति र नेपाल बाइबल सोसाइटीको सहकार्यमा ख्रिष्टियन जर्नलिस्ट फेलोसिप नेपाल (CJF Nepal) को आयोजनामा पादरी गंगाप्रसाद प्रधानको १७५औं जन्म स्मृति कार्यक्रम ललितपुरको कुसुन्तीमा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल राष्ट्रिय मण्डली संगतिका नवनिर्वाचित अध्यक्ष रेभ. डा. किरणकुमार दासले पादरी गंगाप्रसाद प्रधानले नेपाली पत्रकारिता, शिक्षा, संगीत तथा नेपाली बाइबल प्रकाशनको क्षेत्रमा पुर्‍याउनुभएको ऐतिहासिक योगदानको कदर गर्नु सम्पूर्ण नेपालीभाषी चर्च समुदायको साझा दायित्व भएको बताउनुभयो।

त्यस्तै, नेपाल बाइबल सोसाइटीका कार्यकारी निर्देशक अर्जुन काप्रीले पादरी प्रधानको योगदानकै कारण आज नेपालीहरूको हातमा नेपाली भाषाको बाइबल उपलब्ध हुन सकेको उल्लेख गर्नुभयो। उहाँले बहुआयामिक व्यक्तित्वका धनी पादरी प्रधानको योगदानलाई सम्मान गर्दै नेपाल बाइबल सोसाइटी आगामी दिनमा सीजेएफ नेपालसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम पत्रकार गोविन्द विश्वकर्माले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो भने सीजेएफ नेपालका अध्यक्ष तथा पत्रकार दिनेश श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा पादरी गंगाप्रसाद प्रधानको जीवनी र योगदानका विषयमा लेखक समयकुमार रम्तेलले प्रकाश पार्नुभएको थियो। त्यस्तै, प्रकाश विशुन्खे, पास्टर बिरु घिसिङ, लेखक केपी अधिकारी, एमफिल–पीएचडी स्कलर देव श्रेष्ठ, पास्टर उदयराज भाट र पास्टर रूपनारायण तिमिल्सिनालगायतले पादरी प्रधानको योगदानबारे आ–आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रममा पत्रकार कुमारसिंह विष्टले पादरी गंगाप्रसाद प्रधानको योगदानबारे बाइबल स्कूल, विश्वविद्यालय, कलेज तथा सरोकारवाला निकायहरूबीच थप अध्ययन, छलफल र बहस हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।

हरेक वर्ष जुलाई ४ मा सीजेएफ नेपालले पादरी गंगाप्रसाद प्रधानको जन्म स्मृतिको अवसर पारेर छलफल तथा विचार गोष्ठी आयोजना गर्दै आएको छ।

पादरी गंगाप्रसाद प्रधान नेपाली पत्रकारिताका ऐतिहासिक व्यक्तित्वमध्ये एक मानिनुहुन्छ। उहाँले वि.सं. १९५८ मा ‘गोर्खे खबर कागत’ पत्रिका प्रकाशन गर्नुभएको थियो। उक्त पत्रिका उहाँले करिब ३१ वर्षसम्म निरन्तर प्रकाशन गर्नुभएको थियो।